काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका महिलाले बिहीबार (कात्तिक २७) काठमाडौंमा भेला गरी वर्तमान नेतृत्व परिवर्तनका लागि दबाब दिएका हुन् ।भेलामा सहभागी नेतृहरूले नियमित महाधिवेशन समयमै सम्भव नभए पार्टी विधानअनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन् । नेतृ चन्दा जोशीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नेतृत्व परिवर्तन गरी जनतामाझ जाने तयारी गर्नुपर्ने बताइन् ।उनका अनुसार देशभरका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरी पार्टीमा दर्ता गराइसकेका छन् । उनले पुस मसान्तभित्र विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वमार्फत पार्टी अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।कांग्रेस नेतृ कुसुमदेवी थापामगरले वर्तमान नेतृत्वले जनताको समस्या सम्बोधन गर्न नसकेको र त्यसकै कारण ‘जेनजी आन्दोलन’ जस्तो स्थिति सिर्जना भएको आरोप लगाइन् । उनले विशेष महाधिवेशन नगरी पार्टी चुनावमा गए थप संकट निम्तिन सक्ने चेतावनी दिइन् ।नेपाल विद्यार्थी संघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले पार्टी नेतृत्व भ्रष्टाचार, भागबन्डा र संस्थागत कमजोरीका कारण जनतामाझ कलंकित बनेको आरोप लगाउँदै त्यसको निर्मम समीक्षा गर्नुपर्ने बताइन् । उनका अनुसार कांग्रेसले विगतका गल्तीहरू सुधारेर “सुध्रिएको सन्देश” लिएर जनतामाझ जानु आवश्यक छ ।पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपी ऐरले समयमा नै महाधिवेशन गरी महिला र युवाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।कांग्रेसमा हाल नियमित महाधिवेशनको समयबारे विवाद छ । संस्थापन पक्षले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने संस्थापनइतर पक्षले निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएको छ ।
२७ कार्तिक २०८२, बिहिबार
0
Shares








प्रतिक्रिया