Logo

समाचार

रवि लामिछाने र छविलाल जोशीको निवेदन उच्च अदालत बुटवल इजलासमा


२७ कार्तिक २०८२, बिहिबार  

115
Shares

काठमाडौं । संगठित अपराध र सहकारी ठगी मुद्दामा थुनामुक्त हुन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले दर्ता गरेको निवेदन बिहीबार (कात्तिक २७) उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा परेको छ। उक्त मुद्दा न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा परेको हो।

रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने छविलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सो आदेशविरुद्ध रविले साधारण तारेख माग गर्दै उच्च अदालत पुगेका थिए, तर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

थुनामै रहँदै रविले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले गएको जेठमा बुटवल इजलासको आदेश सदर गरेको थियो। त्यसपछि रवि र छविले बिगोबमोजिको रकम बुझाएर थुनामुक्त हुन माग गर्दै पुनः निवेदन दिएका हुन्। जिल्ला अदालतले उक्त निवेदन अस्वीकृत गरेपछि उनीहरू उच्च अदालत पुगेका हुन्।

कानुन अनुसार सहकारी ठगी मुद्दामा बिगो खुलेको अवस्थामा रकम बुझाएर बाहिर बसेर मुद्दा लड्ने व्यवस्था भए पनि संगठित अपराधमा संलग्न व्यक्तिलाई सो सुविधा नदिने प्रावधान छ। जिल्ला अदालतले यही आधारमा उनीहरूको निवेदन अस्वीकार गरेको थियो।

रवि तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक र छविलाल जोशी सो संस्थाका सञ्चालक थिए। उनीहरूको निवेदन सम्बन्धी मिसिल माग्न उच्च अदालत बुटवल इजलासले कात्तिक २० गते आदेश दिएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १२ : ५५ बजे