काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट प्रस्ताव गरिएको ८ प्रतिशत नगद लाभांश (करसहित) सर्वसम्मतिले स्वीकृत गरेको छ।
सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकले रु. ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो।
अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमको पूर्ण पालना गर्दै शेयरधनीलाई स्थायी र उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै व्यवसाय वृद्धिमा ध्यान केन्द्रित गर्ने योजना रहेको बताए।
सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संस्थागत तथा व्यक्तिगत शेयरधनी, सञ्चारकर्मी र कर्मचारीको उपस्थिति थियो।
ग्लोबल आइएमई बैंकले हाल देशका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा संचालन गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले हालसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ।










प्रतिक्रिया