Logo

राजनीति

लेखकको दाबी : सामाजिक सञ्जाल प्रतिबन्ध फुकाउने प्रस्ताव गरेको थिएँ, जेनजी आन्दोलनमा मानवीय क्षति नहोस् भनेर निर्देशन दिएको थिएँ


२६ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूले पद छाड्नुअघिको अन्तिम मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव गरेको दाबी गरेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव राखेको बताए । “त्यो मेरो सरकारमा अन्तिम दिन थियो । राजीनामा गर्नुअघि सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको थिएँ,” लेखकले भने, “त्यो निर्णयमा स्वीकार भएन तर कार्यान्वयनमा भने स्वीकार भयो ।”

उनले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिबारे पनि धारणा राख्दै प्रदर्शन नियन्त्रणका क्रममा संयमता अपनाउन आफूले स्पष्ट निर्देशन दिएको दाबी गरे । “सुरक्षा योजना बनाउँदा नै मैले कुनै पनि मानवीय क्षति नहोस् भनेर निर्देशन दिएको थिएँ,” उनले भने, “घटना घटिसकेपछि पनि थप क्षति नहोस् भनेर संयमता अपनाउने निर्णय गरियो ।”

लेखकले आन्दोलनमा ‘घुसपैठिया’ प्रवेश गरेको आरोप लगाउँदै उनीहरूले कांग्रेसविरुद्ध आक्रमण गरेको बताए । उनका अनुसार विराटनगरको कोइराला निवास र बाँडेगाउँको किशुनजी आश्रममाथि भएको आक्रमणलाई भ्रष्टाचारविरोधी आन्दोलनका रूपमा मात्र व्याख्या गर्न नसकिनेछ ।

उनले आन्दोलनका क्रममा धेरै जनाको हताहती भएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताए । “धेरै जनाको हताहत भएपछि नैतिक जिम्मेवारी लिँदै मैले राजीनामा दिएको हुँ,” लेखकले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ५४ बजे