Logo

मुख्य समाचार

स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटेर फरार


२६ कार्तिक २०८२, बुधबार  

0
Shares

विराटनगर । ‘भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,’ सुन्दरहरैंचाकी चन्द्रमा खनाल भन्छिन्, ‘अहिले बुझ्दा पो ठगिएका रहेछौँ ।’ उनको यो वाक्य यतिबेला मोरङका दर्जनौँ घरमा गुन्जिरहेको छ । कपिलवस्तुका एक व्यक्तिले स्पेन पठाइदिने नाममा दर्जनौँ परिवारको सपना, श्रम र सम्पत्ति लुटेका छन् ।

५७ वर्षीया निलादेवी खनाल र उनका श्रीमानले छोरी र ज्वाइँलाई विदेश पठाउने रहरमा १६ लाख रुपैयाँ सञ्जीव खरेल नामक व्यक्तिलाई बुझाए । छिमेकीको सिफारिसले विश्वास गरे, यही विश्वास नै उनीहरूको विनाशको कारण बन्यो । ‘साँवा त जसोतसो तिरौला, ब्याजले त डाँडा काट्ने रहेछ,’ निलादेवी भन्छिन, सञ्जीव खरेलले उनीहरूलाई दिल्ली र काठमाडौं लगेर ‘स्पेनको भिसा आउँदैछ’ भन्दै १७ दिनसम्म होटेलमा राखे । त्यसपछि सम्पर्क टुट्यो ।

बेलबारी–४ का ४८ वर्षीय ताराप्रसाद भट्टराई मेहनती किसान हुन् । गाई पालन गरेर सानो व्यवसाय चलाइरहेका थिए । तर स्पेनमा महिनामा दुई लाख कमाइ हुन्छ भन्ने खरेलको मीठो बोलीले उनले १० वटा गाई बेचेर ६ लाख रुपैयाँ बुझाए । ‘घरमा कसरी मुख देखाउने?’ उनले भने, ‘गाई पनि गयो, पैसा पनि गयो।’ खरेलले उनलाई बार्सिलोना पछाडिको पृष्ठभूमि राखेर भिडियो अन्तर्वार्ता लिने नाटक गरे । त्यसपछि थप पैसा माग्दै गए । तर, न भिसा आयो, न खरेल फेला परे ।

कतारमा बारिस्ता काम गर्ने शशिता दनुवारले पनि त्यही सपना देखिन् । महिनाको झन्डै एक लाख कमाइ भए पनि स्पेनमा दुई लाखभन्दा बढी हुन्छ भन्ने लोभमा उनले सुन बेचेर ८ लाख बुझाइन् । ‘दशैंको अघिल्लो दिन फोन गरेर भिसा आयो भनेपछि टिका पनि नलगाई काठमाडौं गएँ,’ उनी सम्झिन्छिन् । ११ दिनपछि उनले न त भिसा पाइन्, न पासपोर्ट ।

सुन्दरहरैंचा–९ का गोविन्द दहाल ग्रिल व्यवसायी हुन् । राम्रै चलिरहेको व्यवसाय बेचेर उनी पनि स्पेनको तयारीमा लागे । नवमीको दिन परिवारसँग उत्साहसहित भएर बिदा भए, उनको भोलिपल्टै स्पेन उड्ने योजना थियो । तर, त्यही सपना ठगीको जालमा प¥यो । ९ लाखभन्दा बढी खर्च गर्दा पनि उनले न भिसा पाए, न पैसा । ‘सपना त स्पेनको थियो, तर गन्तव्य ठगीको बन्यो,’ उनी भन्छन् ।

डिजिटल ठगीको नयाँ रूप
सञ्जीव खरेलले सम्पर्कका लागि फोन मात्र होइन, वाट्सएप, भाइबर, टेलिग्राम र फेसबुक मेसेन्जर प्रयोग गर्थे । उनले भारतमा समेत सञ्जीव खरेल नाममै आधार कार्ड बनाएर चलाएको पीडितहरूले बताएका छन् । कहिले आफ्नै, कहिले अरूको बैंक खातामा पैसा हाल्न लगाउँथे । पीडितहरूका अनुसार उनी कहिले दिल्ली, कहिले कपिलवस्तु र कहिले काठमाडौँमा हुने गर्थे । पछिल्लो समय उनी सम्पर्कविहीन छन् ।

कसरी काम गर्थे खरेल?
पिडितहरुका अनुसार पहिलो चरणमा, सामाजिक सञ्जालमार्फत ‘स्पेन पठाइदिन्छु’ भन्ने प्रस्ताव राख्दथे । दोस्रो चरणमा, ‘भिसा प्रक्रिया सुरु भयो’ भन्दै दिल्ली र काठमाडौँमा बोलाउने गरेका उनले तेस्रो चरणमा, फेक भिसा देखाउने, अन्तर्वार्ता लिने नाटक र डेढ लाखका लुगा किन्न नर्देशन समेत दिने गर्दथे ।

पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन् । ‘पैसा त गयो, तर अब अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन् । शशिता दनुवार भन्छिन्,‘हामी विदेशमा दुःख गरेर पठाएको पैसा पनि ठगले लुटे । अब अरू नफसुन् भन्ने चाहना मात्रै छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : २१ बजे