बाजुरा । बाजुरामा नयाँ कारागार भवन निर्माण कार्य सुरु भएको छ। जिर्ण अवस्थामा रहेको भवन भत्काई सुविधायुक्त नयाँ भवनको निर्माण प्रक्रिया सुरु भएको हो । कारागारमा रहेका सबै कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको सुविधायुक्त कारागार निर्माण कार्य अघि बढेको हो ।
जिर्ण अवस्थामा रहेको कारागार भवनमा कैदीबन्दीलाई व्यवस्थापनमा सकस भएकाले नयाँ भवन निर्माण गर्न लागिएको कारागार बाजुराका प्रमुख जेलर अनिल कुमार तिवारीले बताए । उनका अनुसार,नयाँ कारगार भवन निर्माण पश्चात् कैदिबन्दिको व्यवस्थापनमा सहज हुने बताए । साथै सुविधा सम्पन्न नयाँ निमार्णले ठूलो सहयोग पुग्ने अपेक्षा समेत लगिएको जानकारी दिएका छन् ।
२५ जना कैदीबन्दीका लागि करिब ४५ वर्ष पहिले २०३७ सालमा कारागार निर्माण गरिएको थियो । त्यो अवधिसम्म अर्काे भवन बनेको थिएन्। जसका कारण जिर्ण भवनमा जोखिम मोलेर कैदी राख्नु पर्ने बाध्यता थियो । महिला र पुरुष गरी ७५ जना कैदीबन्दी अट्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण कार्य सुरु भएको कारागार बाजुराले जनाएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।
२०८३ फागुन मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी डीबी बीएन एस जेभीले करिब ५ करोड ९८ लाख ४८ हजार ४९८ रुपैयाँमा निर्माणको जिम्मा लिएको छ। अहिले धमाधम नयाँ भवन निर्माण कार्य भईरहेको छ । दशैं–तिहारमा ४० जना कैदी बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय नौवस्ता कारागारमा सारिएको हो।त्यस्तै ७ जना कैदीलाई कैलाली र १८ जना थुनुवालाई अछाम जिल्ला कारागार स्थानान्तरण गरिएको हो ।
जिर्ण भवनमा क्षमता भन्दा बढि कैदीबन्दी बस्दै आएका थिए । भवन भित्र खान बस्नका साथै भवन चुहिने गरेको थियो भने सुरक्षाकर्मी बस्ने भवन समेत जीर्ण अवस्थामा थियो ।कारागार प्रशासन भने अहिलेसम्म भाडामा बसिरहेको छ । भवन निर्माण पश्चात् व्यवस्थापनमा सहज हुने कारागार बाजुराले जनाएको छ ।










प्रतिक्रिया