Logo

मुख्य समाचार

जेनजी मुभमेन्टद्वारा ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग


२५ कार्तिक २०८२, मंगलबार  

115
Shares

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मंगलबार (कात्तिक २५) जारी विज्ञप्तिमार्फत मुभमेन्टले मन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको संलग्नतामा भारतको कम्पनी पीटीसी इन्डियासँग गैरकानुनी विद्युत् खरिद सम्झौता भएको आरोप लगाएको छ । उक्त सम्झौताबाट करिब ४३ करोड रुपैयाँबराबरको नोक्सान हुने र देशको आर्थिक स्वाधीनतामाथि प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा विद्युत् नियमन आयोगको स्वीकृतिबिना सम्झौता गरिएको पुष्टि भइसकेको भन्दै यो कार्य भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्रीसँग सम्बन्धित भएको दाबी गरिएको छ ।

मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न, प्राधिकरणका प्रबन्ध निर्देशक सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन सुरु गर्न र विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेको छ ।

संगठनले राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरी राज्यको सम्पत्ति फिर्ता गराउन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ०० बजे