Logo

Breaking News 1

सुनकोशी मरिण डाइभर्सनमा ठेक्का तोड्ने प्रक्रिया सुरु, ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै


२५ कार्तिक २०८२, मंगलबार  

0
Shares

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ ।

आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्झौता किन नतोड्ने भनी स्पष्टीकरण माग्दै ठेक्का रद्दतर्फ अघि बढेको जानकारी दिएको हो । करिब ६१ प्रतिशत समय सकिँदा भौतिक प्रगति १० प्रतिशतमै सीमित रहेको, सुधारका निर्देशन पालना नगरेको र कार्यप्रति उदासीनता देखिएको भन्दै समझदारीअनुसार कदम चालिएको आयोजना स्रोतले जनाएको छ ।

सम्झौता रद्दसँगै पटेल–रमण जेभीले राखेको २ अर्ब ४० करोडको कार्यसम्पादन जमानत र १ अर्ब २० करोड अग्रिम भुक्तानीसहित कूल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि सुरु गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले हालै निर्माण ढिलाइप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय बैठक बोलाएका थिए । सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध र विद्युतगृह निर्माण नहुँदा आयोजना अलपत्र पर्दै गएको छ र अब नयाँ विकल्पतर्फ अघि बढ्ने संकेत मन्त्रीले दिएका छन् ।

करिब १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का लिएको निर्माण कम्पनीले अनुमानित लागतभन्दा ३२ प्रतिशत कम दरमा प्रस्ताव गरेको थियो । माघ २०७९ मा काम सुरु भएको आयोजनाको निर्माण अवधि असार २०८४ सम्म तोकिएको थियो । तर हालसम्म १० प्रतिशत भौतिक प्रगति मात्र देखिएको छ भने २ अर्ब १४ करोड रूपैयाँ (करिब १५ प्रतिशत) भुक्तानी भइसकेको छ । टनेल बोरिङ मेसिनमार्फत १३.३ किलोमिटर सुरुङ निर्माण २६ वैशाख २०८१ मा सफलतापूर्वक सम्पन्न भएको छ ।

सुनकोशी नदीको पानी मरिण नदीतर्फ मोडेर बागमती सिँचाइ आयोजनामा पु¥याइने यस परियोजनाबाट हाल सिँचाइ हुँदै आएको ४५ हजार ६०० हेक्टर क्षेत्र विस्तार गरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारासहित कूल १ लाख २२ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध हुने लक्ष्य छ ।

साथै, परियोजनाबाट ३१ मेगावाट विद्युत उत्पादन हुने छ। मधेश प्रदेशका उर्वर भूसहित कृषि उत्पादन वृद्धि, किसानको जीविकोपार्जनका सुधार, ऊर्जा उत्पादन तथा क्षेत्रीय सन्तुलनमा टेवा पु¥याउने भएकाले यो आयोजना राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : १८ बजे