Logo

समाचार

गुलरियामा धान खरिद गर्दै खाद्य कम्पनी, चार स्थानमा धान खरिद


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

बर्दिया  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको गुलरिया लगायत चार स्थानबाट धान खरिदको सुरुवात गरेको छ । आज एक औपचारिक कार्यक्रम गर्दै गुलरिया नगरपालिकाको सहकार्यमा धान खरिदको सुरुवात गरेको हो ।

खाद्यले राजापुर नगरपालिकाको कम्पनीको हाताभित्र, गेरुवा गाउँपालिकाको शान्तिबजार, बारबर्दिया नगरपालिकाको जयनगर र गुलरिया नगरपालिकाको गुलरिया बजारमा धान खरिद गरिरहेको छ ।

गुलरियामा आइतबारदेखि धान खरिद सुरु गरिएको कम्पनीका वरिष्ठ सहायक नविन प्रसाद आचार्यले बताए । हालसम्मकै पहिलो पटक गुलरियामा खाद्यले धान खरिद सुरु गरेको गुलरिया नगरपालिका वडा न. ९ का किसान झलकमान हमालले बताए ।

गुलरियामा धान खरिद गरेको खुसी व्यक्त गर्दै नगरप्रमुख मुक्तीनाथ यादवले किसानहरूको हितको लागि खाद्यले धान खरिद गरेको बताए । आगामी बर्षको लागि  खाद्यले धान खरिद र भण्डारणका लागि गोदाम र अफिस नै नगरपालिकाले बनाईदिने उनले बताए ।

जनशक्ती अभाव र भण्डारण अभाव भएको हुनाले अन्य पालिकामा धान खरिद गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डेले बताए ।

राजापुरमा खाद्यको गोदाम खाली नभएकोले गोदामको व्यवस्था गरेका स्थानीय तहमा खाद्यले धान खरिद गर्ने उनले बताए ।

कम्पनीले आइतबारसम्म तीन हजार दुई सय क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख पाण्डेले बताए । यस बर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । गत बर्ष खाद्यले ३७ हजार क्विन्टल धान खरिद गरेको थियो ।

सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : १२ बजे