Logo

अर्थ

सेबोनका कर्मचारी काममा फर्किए, आन्दोलनको स्वरूप परिवर्तन


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी ४८ दिनदेखि जारी आन्दोलनको स्वरूप परिवर्तन गर्दै काममा फर्किएका छन् । आइतबार बसेको बोर्ड बैठकले अध्ययन समिति गठन गरेपछि कर्मचारीहरू काममा फर्कन सहमत भएका हुन् ।

बोर्ड बैठकले कर्मचारीहरूको मागबारे अध्ययन गरी सुझाव पेस गर्न बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिमा बोर्ड सदस्य आनन्दराज शर्मा वाग्ले, कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिव निरञ्जन घिमिरे सदस्य छन् । समितिले तीन दिनभित्र अर्थ मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठका अनुसार कर्मचारीहरूसँग सहमति बनाएर समिति गठन गरिएको हो । “उहाँहरू भोलिदेखि नै काममा फर्कनुहुन्छ,” अध्यक्ष श्रेष्ठले बताए ।

तर, कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । उनीहरूले पेन डाउनका कार्यक्रम स्थगित गरेर काम सुरु गर्ने भए पनि नियमित धर्ना जारी रहने जनाएका छन् ।

“समितिको गठन हाम्रो सहमतिमै भएको हो, तर आन्दोलन स्थगित भएको छैन, स्वरूप मात्र परिवर्तन भएको हो,” कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताए । उनका अनुसार अर्थ मन्त्रालयले कात्तिक मसान्तभित्र निर्णय गरेपछि मात्रै आन्दोलन पूर्णरूपमा स्थगित हुनेछ ।

सेबोनका कर्मचारी तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले धितोपत्र बोर्ड कर्मचारी कल्याणकारी कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ खारेज गर्न पत्र पठाएपछि आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ५७ बजे