Logo

मुख्य समाचार

डा. गोविन्द केसीद्वारा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन माग


२३ कार्तिक २०८२, आइतबार  

46
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसँग माग गरेका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेट्दै डा. केसीले व्यवसायीको स्वार्थमा मेडिकल कलेजका सिट बढाइएको दाबी गर्दै ती निर्णय तत्काल सच्याउन आग्रह गरेका हुन्।

डा. केसीसँग भेटका क्रममा चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरी र प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि सहभागी थिए। सो अवसरमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगकी उपाध्यक्ष डा. अञ्जनी झा पनि उपस्थित थिए।

डा. केसीले प्रधानमन्त्रीलाई स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका लागि १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। उनले गत दुई दशकदेखि सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएको उल्लेख गर्दै विगतका सम्झौता कार्यान्वयनमा स्वार्थ समूहको हस्तक्षेपका कारण सुधारका काम अवरुद्ध भएको बताएका छन्।

उनले चिकित्सा शिक्षा आयोगको स्वायत्तता फर्काउने, गेटा मेडिकल विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्ने, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिमा मापदण्ड तय गर्ने उच्च शिक्षा विधेयक जारी गर्ने, र स्नातकोत्तर चिकित्सकको भत्ता आठौँ तह सरह कायम गर्ने माग गरेका छन्।

त्यस्तै, निर्मला कुर्मी हत्या प्रकरण र नक्कली प्रमाणपत्रका मुद्दामा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरूलाई कारबाही गर्न, द्वन्द्वकालीन न्याय प्रक्रिया निष्पक्ष रूपमा टुंग्याउन, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयक अघि बढाउन, र स्वास्थ्यकर्मीको दरबन्दी तथा रोजगारीका अवसर वृद्धि गर्न उनले आग्रह गरेका छन्।

डा. केसीले युवा आन्दोलनका क्रममा गोली चलाउने आदेश दिने तत्कालीन ओली सरकारका अधिकारीहरू र सार्वजनिक सम्पत्ति जलाउने तथा नष्ट गर्ने पक्षमाथि पनि कानूनी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ४ : ५२ बजे