Logo

समाचार

जेनजी आन्दोलनपछिको अर्थतन्त्र र अबको बाटो


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

अहिलेको चुनौती रोजगार सिर्जना र उत्पादन वृद्धिको हो । युवाहरूलाई विदेश पठाउने होइन स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बेला आएको छ । कृषि, पर्यटन र साना उद्योगहरूमा कर छुट, प्राविधिक सहयोग र लगानी प्रोत्साहन दिइयो भने स्वदेशमै रोजगार बढ्न सक्छ ।

अर्जुन जैसी

जेनजी आन्दोलनले नेपालको राजनीतिको मात्र होइन समग्र अर्थतन्त्रको चित्र नै बदलिदिएको छ । लामो समयदेखि नीतिगत समस्या, बेरोजगारी, भ्रष्टाचार र नीति कार्यान्वयनको कमजोरीले आम नागरिकमा गहिरो असन्तोष पैदा गरेको थियो । अन्ततः यही असन्तोष विस्फोट भएर जेनजी आन्दोलनको रूपमा देखाप¥यो, जसले देशको आर्थिक संरचनामा ठूला चुनौतीहरू छाडेको छ । आन्दोलनका कारण निजी क्षेत्रदेखि सरकारी निकायसम्म करिब साढे दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । जसले देशको कमजोर आर्थिक अवस्थालाई अझ स्पष्ट रूपमा उजागर गरेको छ ।

अर्थतन्त्र पुनर्जीवनका लागि अहिलेको पहिलो आवश्यकता भनेको राज्य संयन्त्रमा संरचनागत सुधार र अनुत्पादक खर्चमा नियन्त्रण गर्नु हो । सरकारका तर्फबाट बैठक भत्ता, देखावटी खर्च, अनावश्यक वैदेशिक भ्रमण र सवारीसाधनजस्ता खर्च कटौती गर्ने निर्णय सही दिशातर्फको कदम हो ।

स्वकीय सचिव र सल्लाहकारको अनावश्यक नियुक्ति रोकेर मात्रै पनि अर्बौँ रुपैयाँ राज्यकोषमा बचत हुनसक्छ । त्यस्तै, भूमि समस्या समाधान आयोग खारेज र अनुत्पादक आयोजना रोक्का गर्ने निर्णयले पनि खर्चलाई प्रभावकारी र प्राथमिक क्षेत्रहरूमा केन्द्रित गर्न मद्दत गर्नेछ । तर, यी निर्णयहरू कागजमा मात्र सीमित नहोस् भन्ने सुनिश्चितता गर्न सरकार र नागरिक समाज दुवैले समान जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ ।

अहिलेको चुनौती रोजगार सिर्जना र उत्पादन वृद्धिको हो । युवाहरूलाई विदेश पठाउने होइन स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बेला आएको छ । कृषि, पर्यटन र साना उद्योगहरूमा कर छुट, प्राविधिक सहयोग र लगानी प्रोत्साहन दिइयो भने स्वदेशमै रोजगार बढ्न सक्छ । बैंकहरूमा निष्क्रिय रूपमा थुप्रिएका रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । रेमिट्यान्सले बैंकिङ क्षेत्रलाई बलियो बनाएको छ, तर यो स्थायी समाधान होइन—त्यसैले रेमिट्यान्सलाई उत्पादनमा रूपान्तरण गर्ने नीति अबको मुख्य प्राथमिकता हुनुपर्छ ।

जेनजी आन्दोलनले देखाएको यथार्थ के हो भने पूराना प्रवृत्तिहरू र भ्रष्ट संरचनाले अब देशलाई अघि बढाउन सक्दैनन् । पारदर्शी शासन, नतिजामुखी नीतिहरू र उत्पादनमुखी लगानीमार्फत मात्रै देश पुनर्जीवित हुनसक्छ । अहिलेको दशैँ मितव्ययी तर आत्मबलका साथ मनाउने समय हो, भड्किलो खर्च होइन ।  संस्कृतिको जगेर्ना गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ पाइला चाल्ने अवसर हो । यदि आज नै दृढ राजनीतिक इच्छाशक्ति र व्यावहारिक सुधारहरू लागू गरियो भने, नेपाल निकट भविष्यमा पुनः स्थायित्व र समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : १८ बजे