Logo

मुख्य समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।

पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो नवऔपनिवेशिक जंजीरलाई तोड्न राष्ट्रिय राजनीतिक सम्मेलन गरी देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्नुपर्छ ।’

पार्टीले जारी गरेको कार्यक्रम अनुसार, कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने, र मंसिर १ गते देशव्यापी पर्चा वितरण अभियान चलाइनेछ ।

साथै मंसिर ७ गते देशका प्रमुख सहरहरू महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बाग्लुङ, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभा आयोजना गरिने बताइएको छ ।

पार्टीले मंसिर महिनाभर ‘भ्रष्टाचारी र दलालहरूको भण्डाफोर’ गर्ने र पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा आयोजना गर्ने पनि जनाएको छ ।

महासचिव गौरवले पत्रकार तथा जनसमुदायसँग यी सबै कार्यक्रमहरूमा समर्थन र सहयोगको अपिल गरेका छन् । पार्टीले यी कार्यक्रमहरूको समीक्षा गरी आगामी राजनीतिक योजना तय गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : ५५ बजे