काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (नास आइटी) द्वारा आयोजित नेपालकै पहिलो ‘नास आइटी एक्स्पो २०२५’ शनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको दुईदिने प्रदर्शनीमा ३५ भन्दा बढी नेपाली आइटी कम्पनीहरूले आफ्ना सफ्टवेयर, सेवा र प्रविधिमूलक समाधान प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नास बोर्ड सदस्य प्राथना शाक्यले एक्स्पोप्रति दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताइन् । उनले भनिन्, ‘हिजो मात्रै एक हजारभन्दा बढी दर्शकहरूले एक्स्पो भ्रमण गर्नुभयो । हामीले निकै राम्रो प्रतिक्रिया पायौं । टेक्नोलोजी क्षेत्रमा नेपालले गरेको प्रगति देखेर धेरैजना आश्चर्यचकित पनि हुनुभयो ।’
उनले, यो एक्स्पोले सफ्टवेयर र आइटी सेवा प्रदायक कम्पनीहरूलाई आफ्ना नवीनतम समाधान र परियोजना प्रदर्शन गर्ने ठूलो अवसर प्रदान गरेको बताइन् ।
नेपालमा पहिलोपटक केवल सफ्टवेयर र आइटी सेवा क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको यो प्रदर्शनीले प्रविधि क्षेत्रमा कार्यरत कम्पनीहरूबीच आपसी सहकार्य र नेटवर्किङका लागि नयाँ प्लेटफर्म तयार गरेको बताइएको छ ।
एक्स्पोमा सहभागी दिवस थापाले नेपालको आइटी सेक्टरलाई व्यवस्थित गर्न राज्यले ध्यान दिनुपर्ने औल्याए । सरकारले लगानीमा सहजीकरण, रेगुलेशन साथै इकोसिस्टममा सहयोग गर्नुपर्ने बताए ।










प्रतिक्रिया