काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अभूतपूर्व संकटमा रहेको भन्दै आन्तरिक शक्ति संघर्ष अन्त्य गरी एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रवक्ता महतले पार्टीभित्रको मतभेदले संगठन कमजोर बनेको र अहिलेको परिस्थितिमा विभाजन होइन, एकता अपरिहार्य रहेको बताए । “आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ,” उनले भने ।
महतका अनुसार महासमितिको बैठकमा कांग्रेसको सम्पूर्ण बहस २०८४ को निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा मात्र केन्द्रित भएको छ भने राष्ट्रिय मुद्दामा पर्याप्त छलफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले विशेष महाधिवेशन कि महाधिवेशन भन्ने विषयमै केन्द्रीय छलफल सीमित भएको जनाए ।
उनले भदौ २४ गतेको तोडफोड र अराजक गतिविधिलाई ‘उपलब्धि’का रूपमा लिन नहुने बताए । “नवपुस्ताले भदौ २३ गते सुशासनको माग राखेर आन्दोलन गरे, त्यो जायज थियो । तर २४ गते सिंहदरबार, सर्वोच्च, संसद् र राष्ट्रपति भवनसम्म आक्रमण हुनु युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम बनेका थिए,” महतले स्पष्ट पारे ।
आफू विगतका २०३६, २०४२, २०४६ र २०६२/६३ का आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गरेको उल्लेख गर्दै महतले भने, “म जीवनभर संघर्षमा होमिएँ, तर आज पार्टी आफैँ आत्मघाती बनेको देख्दा पीडा हुन्छ ।”
महतले कांग्रेस नेतृत्वलाई संकटको समाधान, राष्ट्रिय एकता र पार्टीको नेतृत्वदायी भूमिकाबारे गम्भीर छलफल गर्न आग्रह गरे ।










प्रतिक्रिया