Logo

अर्थ

खाना पकाउने ग्याँस र डिजेलको आयात घट्यो


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो ।

आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोजसम्मको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा खाना पकाउने एलपी ग्याँस र डिजेलको आयात ९–९ प्रतिशतले घटेको छ भने मट्टितेलको आयात ३९ प्रतिशतले कमी आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट १७ अर्ब १९ करोड मूल्यको १ लाख ९२ हजार ६६३ किलो लिटर (केएल) डिजेल, १३ करोड ९९ लाख मूल्यको १ हजार ५०० केएल मट्टितेल र ८ अर्ब २४ करोड ८३ लाख मूल्यको ७५ हजार ५५२ मेट्रिक टन खाना पकाउने ग्याँस आयात भएको थियो ।

तुलनामा, चालु आवको सोही अवधिमा १५ अर्ब ७२ करोड ८३ लाख मूल्यको १ लाख ७४ हजार ९२४ केएल डिजेल, ८ करोड २२ लाख मूल्यको ९५० केएल मट्टितेल र ७ अर्ब ४९ करोड २८ लाख मूल्यको ७३ हजार ९७७ मेट्रिक टन ग्याँस आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

समिक्षा अवधिको तुलनामा चालु आवमा डिजेल १७ हजार ७३८ केएल, मट्टितेल ५५० केएल र ग्याँस १ हजार ५७५ मेट्रिक टनले कम आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज नाकामार्फत नेपालका लागि हुने पेट्रोलको आयात भने १४ प्रतिशत र हवाई इन्धनको आयात ४ प्रतिशतले बढेको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

गत आवको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट नेपालका लागि ९ अर्ब ६५ करोड मूल्यको १ लाख ९ हजार २८७ केएल पेट्रोल र ३ अर्ब ९२ करोड ५२ लाख मूल्यको ४२ हजार २३६ केएल हवाई इन्धन आयात भएको थियो ।

तुलनामा, चालु आवको सोही अवधिमा नेपालका लागि १० अर्ब ७२ करोड ७१ लाख मूल्यको १ लाख २५ हजार ३५० केएल पेट्रोल र ४ अर्ब ५ करोड ९७ लाख मूल्यको ४५ हजार १६७ केएल हवाई इन्धन आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ पोखरेलले जानकारी दिए ।

वीरगन्ज नाकाबाट नेपालका लागि आवश्यक इन्धनको ७० प्रतिशतभन्दा बढी आपूर्ति हुने गर्छ भने ६५ प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको आयात यसै नाकाबाट हुने गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : १८ बजे