काठमाडौं । राजधानीका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, मन्दिर, विमानस्थल र अन्य सार्वजनिक स्थानमा वाइफाइ सेवा विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार यसअघि रहेका वाइफाइ सेवाको मर्मत, गुणस्तर सुधार र क्षमता अभिवृद्धि गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ वाइफाइ जडान गरिएको छ।
अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडानसहित निःशुल्क वाइफाइ सेवा उपलब्ध हुनेछ। त्यस्तै, ठूलोभर्याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता अभिवृद्धिको काम भइरहेको छ भने भक्तपुरको राधेराधे कार्यालयमा नयाँ स्थापनाको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सेवाको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले नेपाल टेलिकम, वर्ल्डलिंक र भायनेटसँग सम्झौता गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा सेवा विस्तार गरिएको हो।
प्राधिकरणका अनुसार वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल, सिभिल अस्पताल, ट्रमा सेन्टर, पाटन अस्पताल, माथेमा उपचार केन्द्र र पशुपति क्षेत्रका वाइफाइ सेवा १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस बनाइएको छ। ती क्षेत्रमा प्रति डिभाइस क्षमता पनि १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।
नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने योजना बनाएको छ। भक्तपुर क्यान्सर अस्पतालमा ६ र कीर्तिपुर अस्पतालमा ५ एक्सेस प्वाइन्ट स्थापना गरिएको छ।
मन्त्री खरेलले असोज ६ गते पदभार ग्रहणका क्रममा दुई महिनाभित्र काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ पहुँच विस्तार गर्ने घोषणा गरेका थिए। मन्त्रालयका अनुसार अब उपत्यका बाहिरका १० सहरमा पनि वाइफाइ सेवा विस्तारको तयारी भइरहेको छ।
निःशुल्क वाइफाइ सेवा सञ्चालनको अनुगमनका लागि मन्त्री खरेलसहितको टोली आज नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा जाने कार्यक्रम छ।










प्रतिक्रिया