काठमाडौं । पश्चिमी वायुको प्रभाव आज (मंगलबार) देखि सक्रिय बनेसँगै देशका पश्चिमी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण आगामी दुई दिनसम्म मौसम बदली रहनेछ । आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहे पनि गण्डकीबाट पूर्वतिर यसको असर न्यून रहनेछ । काठमाडौं उपत्यकामा फाट्टफुट्ट वर्षाको सम्भावना भए पनि प्रभाव उल्लेख्य नहुने उनले बताए ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया