दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका–९ यलुङ रि हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान करिब १० बजे गएको हिमपहिरोमा पाँच विदेशी र दुई नेपाली नागरिकको मृत्यु भएको हो । अन्य पाँच जना घाइते भएका छन् ।
घटनामा संलग्न १२ जनाको आरोहण टोली यलुङ रि गो हिमाल (५,६३० मिटर) आरोहणका लागि गएको थियो ।
घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीसहित करिब ५० जनाको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि आरोहण टोलीमा १५ सदस्य रहेको उल्लेख गरिएको भए पनि सशस्त्र प्रहरीका अनुसार वास्तविक संख्या १२ रहेको स्पष्ट गरिएको छ ।










प्रतिक्रिया