Logo

मुख्य समाचार

एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव


१७ कार्तिक २०८२, सोमबार  

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।

आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर)लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।

सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।

श्रेष्ठले डा.बद्री केसीले  नेतृत्व गरेको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट संघभित्र विगतका विवादहरू समाधान गर्ने र पारदर्शिता, विश्वसनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एनआरएनए कुनै व्यक्ति वा समूहको संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा घर हो, जसलाई हामी सबैको सहकार्यले मात्र मजबुत बनाउन सक्छौं,’ श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठको नेतृत्वमा तयार गरिएको मस्यौदाले आगामी १२औं महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने स्पष्ट योजना समेटेको प्रवक्ता गंगाधर गौतमले बताए । उनले यसका लागि अध्यक्ष श्रेष्ठको नेतृत्वमा स्टेरिङ कमिटी गठन गर्ने र एमआइएस  व्यवस्थापन समिति र विवाद समाधान समितिहरु पनि गठन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट निर्वाचित भएको हो ।  एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने बुँदा पनि सहमति प्रस्तावमा समावेश गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ४१ बजे