Logo

राजनीति

जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ : प्रधानमन्त्री कार्की


१६ कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरण निर्माण सरकारको मुख्य प्राथमिकता रहेको बताएकी छन् । आइतबार बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका तयारी तीव्र गतिमा अघि बढिरहेको बताउँदै सुरक्षित र सहज मतदानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

उनका अनुसार सुरक्षा निकायका लागि आवश्यक सबै बन्दोबस्तीको व्यवस्था भइरहेको छ । “प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “छिमेकी मुलुक र मित्रराष्ट्रहरूले सवारीसाधन तथा आर्थिक सहयोगको वचन दिएका छन् ।”

प्रधानमन्त्रीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ९० प्रतिशत प्रहरी संरचना स्थानीय जनताले पुनर्निर्माण गरिदिएको उल्लेख गर्दै यसले प्रहरीको मनोबल बढाएको र जनता–सुरक्षा निकायबीचको सम्बन्ध सुदृढ भएको बताइन् ।

उनले निर्वाचनका तयारीमा कुनै बाधा नआउने विश्वास व्यक्त गर्दै भनिन्, “निर्वाचन आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध छन् । बाँकी व्यवस्थापन भइरहेको छ । आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन सकिनेमा पूर्ण विश्वास व्यक्त गरेको छ ।”

प्रधानमन्त्री कार्कीले सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताइन् । “प्रदेश र स्थानीय सरकारको हातेमालोबिना निर्वाचन सफल हुन सक्दैन,” उनले भनिन्, “हामी तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्नेछौँ ।”

उनले मुलुकमा देखिएका समस्या समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । “मुलुक हाम्रो हो, हामीले सुधार्ने हो, बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ,” प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्रीले स्थायित्वका लागि निर्वाचित सरकार आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक दल र निर्वाचन एकअर्काका परिपूरक भएको बताइन् । उनले नयाँ पुस्ता र स्वतन्त्र उम्मेदवारहरूलाई पनि लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना एजेन्डा जनतामाझ प्रस्तुत गर्न आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि वातावरण सुरक्षित र सुदृढ बन्दै गएको निष्कर्ष निकाल्दै, आगामी चरणमा स्थानीय सरकारका प्रतिनिधिसँग पनि छलफल गर्ने बताएकी छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ५८ बजे