बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले कार्तिक मध्यसम्म पनि धान खरिद नगर्दा किसानहरू मर्कामा परेका छन् । खाद्यले धान खरिद नगर्दा किसानहरू सस्तो मुल्यमा धान बेच्न बाध्य छन् ।
खाद्यले सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गरे पश्चात् व्यापारीहरूले धान सोही मुल्यमा खरिद गर्छन् भन्ने ठुलो आशा थियो । तर खाद्यले नै धान खरिद नगरपछि व्यापारीहरूले किसानको धान सस्तो मुल्यमा खरिद गरिरहेका छन् ।
सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ । तर किसानहरू दुई हजार पाँच सय देखि दुई हजार सात सय सम्ममा धान बिक्रि गरिरहेका छन् । मध्यम धान केही ढिला उत्पादन हुने भएपनि मोटा धान किसानहरूले धमाधम बिक्रि गरिरहेको गुलरिया नगरपालिका वडा ५ सुहेलवाका रामदयाल थारूले बताए ।
खाद्य संस्थानले धान खरिद गर्न ढिलाई गरेको मौका छोपेर व्यापारीहरूले सस्तो मुल्यमा धान खरिद गरिरहेको राजापुर नगरपालिका वडा ७ का किसान पहारी थारूले बताए ।
उनले हरेक बर्ष कृषकले धान विक्रि गरेपछि मात्र कम्पनीले धान खरिद सुरु गर्ने गरेको बताए । उनले भने, ‘विगत्मा कम्पनीले धान खरिदको सुरुवात गर्ने वित्तिकै व्यापारीहरूले पनि समर्थन मुल्यमा धान खरिद गर्ने गरेका छन्, कृषकको भलाईका लागि पनि छिट्टै धान खरिद सुरु गर्न पर्दछ ।’
गुलरिया नगरपालिका वडा नं ७ चौगुर्जीका किसान प्रवेश यादवले व्यापारीहरूले आफूले चाहेअनुसारको धानको मुल्य लगाएको बताए । सरकारले धानको समर्थन मुल्य तोकेपनि व्यापारीहरूले आफू खुसी मुल्य राखेको बताए ।
किसानले सस्तो मुल्यमा धान विक्रि गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भने गरेको छैन । गत बर्ष पनि कार्तिकको दोस्रो सातामा धान खरिद सुरु गरेको थियो । यस बर्ष धान खरिदमा झन् ढिलाई गरेको छ ।
कम्पनीका सूचना अधिकारी चेतमान कठायतले सोमबार प्राथमिक खरिद समितिको बैठक बसेपछि मंगलबार देखि धान खरिद हुने बताए । उनी विविध कारणले र खरिद समितिको बैठक बस्न ढिलाई भएकोले धान खरिदमा ढिला भएको बताए ।
यस वर्ष ३० हजार क्विन्टल मात्र धान खरिद गर्ने लक्ष्य राखेको छ । जसमध्ये २५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पानी लिमिटेडले जनाएको छ ।
गत बर्ष कम्पनीले एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको भएपनि ३७ हजार क्विन्टल मात्र धान खरिद गर्न सफल भएको थियो । व्यापारीले सस्तो मुल्यमा धान खरिद गरिरहेको समयमा खाद्यले धानको कोटा नै कम तोकेर किसानलाई मारमा पारेको छ । यता स्थानीय व्यापारीहरूले किसानहरूको धान सस्तो मुल्य खरिद गर्न थालेपछि ताराताल सानाकिसान कृषि सहकारी संस्थाले किसानको धान समर्थन मुल्यमा खरिद गरिरहेको छ । हाल सम्म मधुवन र गुलरिया नगरपालिकाको किसानबाट तीन हजार क्विन्टल धान खरिद गरिसकेको मुख्य प्रबन्धक डम्बर केसीले बताए ।










प्रतिक्रिया