काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै आएको छ । सोही क्रमअनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत रकम निक्षेप संकलन गर्न लगिएको जनाइएको छ ।
अनलाइन बोलकबोल मार्फत आज दिउँसो ३ बजेदेखि देखि सबै इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी आह्वान गरिएको कुल रकमभित्र आवेदन दिन सक्नेछन् ।
निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ । क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।










प्रतिक्रिया