हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय अन्तत्र्रिmयात्मक गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक उद्धेश्य पूरा गर्नमात्र बजेट बनाउने पुरानो परिपाटी अन्त्य हुनुपर्ने बताए ।
उनले भने, ‘लगानीबाट प्रतिफल आउनुपर्ने र त्यस प्रतिफललाई पुनः अन्य क्षेत्रमा लगानी गर्नसक्ने वातावरण बनाउनु नै प्रदेशको समृद्धिको बाटो हो ।’
मुख्यमन्त्री बानियाका अनुसार सातै प्रदेशले आगामी बजेटमा रोजगारी सिर्जना, कर दायरा विस्तार र आय वृद्धिमा केन्द्रित योजना प्राथमिकतामा राख्नुपर्छ । उनले भने, ‘राजनीतिक अवस्था परिवर्तन भए पनि जनताको आर्थिक अवस्था परिवर्तन गर्न कठोर निर्णय लिनुपर्छ ।’
मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुक सञ्चालनका लागि दलहरुले आत्मसमीक्षा गर्नुपर्ने र साझा तथा एकल अधिकारको विषयमा अल्झिन नहुने उल्लेख गरे । उनले संघीयताको सफल कार्यान्वयनका लागि वित्तीय पक्ष सुदृढ र पारदर्शी हुनुपर्नेमा जोड दिए । उनका अनुसार प्रदेशको आर्थिक क्षमता अभिवृद्धि र आन्तरिक स्रोत परिचालनका लागि सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ ।
कार्यक्रममा सातै प्रदेशको आन्तरिक राजस्व प्रवृत्ति विश्लेषण प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यस अवसरमा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरे । कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको सभाध्यक्षतामा भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, सातै प्रदेशका अर्थ मन्त्रालयका सचिव, आयोग तथा निकायका महाशाखा प्रमुख र प्रदेश लेखा नियन्त्रकहरुको उपस्थिति थियो ।










प्रतिक्रिया