Logo

मुख्य समाचार

‘मोन्था’को प्रभाव सकियो, आज कोसी–वाग्मती–गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


१६ कार्तिक २०८२, आइतबार  

69
Shares

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा सकिएको छ । तर, पश्चिमी वायुको प्रभावका कारण आज (कात्तिक १६) देशका केही पहाडी क्षेत्रमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार हाल नेपालमा मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त वायुको प्रभावले कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपातको पनि पूर्वानुमान गरेका छन् ।

झाका अनुसार “मोन्था” चक्रवातको प्रभाव शनिबारबाटै समाप्त भइसकेको छ । “मोन्थाको प्रभाव हिजै सकियो, अहिले पश्चिमी वायुकै प्रभाव हो,” उनले भने । उनका अनुसार अरब सागरमा बनेको न्यूनचापीय प्रणाली पनि कमजोर भइसकेकाले त्यसको ठूलो असर नेपालमा छैन ।

आइतबार बिहान सिन्धुपाल्चोक, कास्की, पर्वत, नुवाकोट र संखुवासभालगायत जिल्लामा हल्का वर्षा भएको छ । राति पनि यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै प्रदेशको १० देखि ३० प्रतिशत क्षेत्रफलमा वर्षा भए त्यसलाई ‘थोरै स्थान’ भनिन्छ । १० प्रतिशतभन्दा कम क्षेत्रलाई ‘एक–दुई स्थान’, ३० देखि ५० प्रतिशत क्षेत्रलाई ‘केही स्थान’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रलाई ‘अधिकांश स्थान’ भनिन्छ ।

त्यस्तै, २४ घण्टामा १० मिलिमिटरसम्म पानी परे ‘हल्का वर्षा’, १० देखि ५० मिलिमिटर ‘मध्यम’, ५० देखि १०० मिलिमिटर ‘भारी’, १०० देखि २०० मिलिमिटर ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा बढी परे ‘अति भारी वर्षा’ मानिने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘मोन्था’पछि बुधबार पुनः अर्को पश्चिमी प्रणाली सक्रिय हुने सम्भावना रहेको छ, जसका कारण फेरि वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ३३ बजे