Logo

राजनीति

कांग्रेस पदाधिकारी बैठक बिनानिष्कर्ष, महाधिवेशन कहिले गर्ने भन्नेमा मतान्तर कायम


१५ कार्तिक २०८२, शनिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका तय गर्न शनिबार बसेको पदाधिकारी बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रतिनिधिसभा निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन बनेको हो।

शनिबार (कात्तिक १५) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा छलफल भए पनि ठोस निर्णय हुन सकेन। बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समान दृष्टिकोणमा पुग्ने प्रयास जारी रहेको बताए। “समान निष्कर्षमा पुग्ने दिशामा हामी नजिक छौँ,” उनले भने, “केन्द्रीय समितिको निर्णय सर्वसम्मत बन्ने अपेक्षा राखेका छौँ।”

पार्टीभित्र महाधिवेशनको मितिबारे दुई धारणा छन्। संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि, आउँदो वैशाखतिर मात्र महाधिवेशन गर्न उपयुक्त हुने अडान लिँदै आएको छ। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतरपक्षले निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन्।

मतभिन्नता कायम रहेपछि केन्द्रीय कार्यसमिति बैठक आइतबार (कात्तिक १६)सम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ०८ बजे