काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीका विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग आज बालुवाटारमा छलफल गरेकी छन्। करिब एक घण्टा चलेको छलफलमा निर्वाचन तयारी, दलहरूको प्रतिबद्धता र आगामी कार्ययोजनाबारे विस्तृत कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूको स्पष्ट निर्वाचन प्रतिबद्धता आवश्यक रहेको बताउँदै दलहरूबीच सहमति र सहकार्यबाट निर्वाचन सफल बनाउन आग्रह गरेकी थिइन्।
छलफलमा कांग्रेस महामन्त्रीद्वयले पार्टी निर्वाचनमा जान प्रतिबद्ध रहेको र चाँडै औपचारिक निर्णय गर्ने बताएका थिए। उनीहरूले नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिन निर्वाचनबाट पछि हट्ने पक्षमा नहुने विश्वास व्यक्त गर्दै एमालेलाई निर्वाचनमा सहभागी गराउन सरकार र कांग्रेस दुवैले पहल गर्नुपर्ने धारणा राखे।
शर्मा र थापाले जेनजी युवालगायत अन्य दलहरूसँग संवाद बढाएर युवा आन्दोलनका माग र निर्वाचनपछिका प्राथमिकता विषयमा पूर्वसहमति गर्ने तयारीबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री कार्कीले नेकपा (एमाले) नेतृत्वलाई पनि छलफलका लागि आमन्त्रण गरेकी छन्। पार्टी बैठकका कारण एमालेले अर्को दिन भेट्ने जानकारी दिएको बालुवाटार स्रोतले जनाएको छ। यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न दलका नेताहरूसँग चरणबद्ध रूपमा परामर्श गर्दै सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद सम्पन्न गरिसकेकी छिन्।










प्रतिक्रिया