सर्लाही । दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
पर्सा जिल्ला अदालतको शुक्रबारको आदेश अनुसार वीरगञ्ज महानगरपालिका – २४ रामगढवाका १९ बर्षीय गौतम पटेल, २० बर्षीय शुभ शंकर चौरसिया र २२ बर्षीय अमिरी पटेललाई वीरगञ्ज कारागार चलान गरिएको छ । त्यस्तै, एक १७ वर्षीय किशोरलाई बाल सुधार गृह पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवालले अदालतले तोकेको दुई दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने ५० हजार धरौटी बुझाउन नसकेका मन्टु पटेल भने कारागार चलान भएका छन् ।
घटना गत असोज १४ गते राति करीब साढे ११ बजे वीरगञ्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिक लागेको मेलामा भएको हो ।
सामान्य विवादबाट सुरु भएको झगडा क्रमशः हिंसामा परिणत भई ‘खुनी दरिन्दे’ नामक ह्वाट्सएप समूह सञ्चालन गर्ने गिरोहका सदस्यहरूले शिवममाथि धारिलो हतियार र बाँसका भाटा प्रयोग गरी आक्रमण गरेका थिए ।
गम्भीर घाइते भएका शिवमलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि राति ११ः५० मा चिकित्सकले मृत घोषित गरेका थिए ।
बाराको परवानीपुर गाउँपालिका–९ का स्थायी बासिन्दा शिवम वीरगञ्जमा बस्दै रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकको निर्देशनमा ‘अपरेशन च्यालेन्ज’ नामक विशेष अनुसन्धान सञ्चालन गरिएको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का, शव परीक्षण प्रतिवेदन र सिसिटिभी फुटेजको गहन विश्लेषण गरी २४ घण्टाभित्र १० जना शंकास्पद व्यक्तिको पहिचान गरेको थियो । त्यसपछि २८ घण्टाभित्र पाँच जना पक्राउ परेका थिए ।
तीमध्ये दुई जना भारतको पश्चिम चम्पारणको बल्थर गाउँमा लुकेर बसेका थिए, जसलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
पछि असोज २१ गते घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका १७ वर्षीय किशोर पक्राउ परे , उनले सामाजिक सञ्जालमार्फत शिवमलाई ‘घरमै बस्, नत्र मारिदिन्छु’ भन्दै धम्की दिएका थिए । त्यसपछि मन्टु पटेल पनि पक्राउ परेका थिए ।
प्रहरीको अनुसन्धानले शिवम र उक्त गिरोहबीच एक वर्षअघि पनि झगडा भएको र प्रहरीमा उजुरी परेको तथ्य फेला पारेको छ । अनुसन्धानअनुसार घटनाको राति गिरोहका सदस्यहरूले मादक पदार्थ सेवन गरेका थिए र पूरानो रिसिइबी साँध्ने क्रममा शिवम एक्लै परेको मौका छोपेर उनको हत्या गरेका थिए ।
किशोरावस्थाको आवेग, समूहको बर्चस्व प्रदर्शन गर्ने चाहना र कुख्यात बन्ने मानसिकता यो अपराधका मुख्य कारण हुन् । अनुसन्धानका क्रममा सिसिटिभी फुटेज, ह्वाट्सएप च्याट, कल डिटेल रेकर्ड, फेसबुक पोस्ट र प्रत्यक्षदर्शी बयानले अपराधीहरूको पहिचानमा निर्णायक भूमिका खेलेको प्रहरीको भनाइ छ ।










प्रतिक्रिया