Logo

राजनीति

नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला : मिलन सी बने महासचिव


१५ कार्तिक २०८२, शनिबार  

46
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलाले ‘नयाँ कम्युनिस्ट केन्द्रका लागि एकता र ध्रुवीकरणको आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गर्दै समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।

पार्टीले मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीबाट अलग भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै हालको परिस्थिति अनुसार एकता र ध्रुवीकरणको नयाँ पहलका लागि पार्टी पुनर्गठन गरिएको जनाएको छ ।

पार्टीका अनुसार, करिब ९० प्रतिशत स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले तत्काल एकताको पक्षमा सुझाव दिए पनि पूर्व महासचिव विप्लव ‘सी’ले त्यसबाट पछि हटेपछि नयाँ नेतृत्वमा पुनर्गठन आवश्यक भएको निष्कर्ष निकालिएको हो ।

भेलाले देशको राजनीतिक अवस्था ‘इतिहासकै जटिल र सङ्कटपूर्ण’ रहेको बताउँदै समान विचारका क्रान्तिकारी कम्युनिस्टहरूबीच तत्काल एकता र ध्रुवीकरणको आवश्यकता औंल्याएको छ ।

पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुने उल्लेख गर्दै भेलाले ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । बैठकले मिलन सी(चिरन पुन)लाई महासचिव र जितेन्दी सीलाई प्रवक्तामा चयन गरेको छ ।

भेलाले समाजवादी मोर्चामा रहेका कम्युनिस्ट र क्रान्तिकारी दलहरूबीच एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, शहीदहरूको सम्मानमा राज्यले ‘शहीदको दर्जा’ दिई व्यवहार गर्नुपर्ने नीति लिने निर्णय पनि गरिएको छ ।

भेलाले नेपाल सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न जोड दिँदै ‘एकीकृत जनक्रान्तिको कार्यदिशा समाजवादी क्रान्तिको कार्यदिशा हुनेछ’ भन्ने नीति निर्धारण गरेको छ ।

राजनीतिक मूल्याङ्कनमा पार्टीले संसदवादलाई ‘कम्युनिस्ट आन्दोलनका लागि हानिकारक’ ठहर गर्दै संसदमा भाग लिनु कार्यनीतिक हुन सक्ने तर संसदीय व्यवस्थामा डुब्नु संसदवाद हुने स्पष्ट गरेको छ ।

भेलाले राष्ट्रिय स्वाधीनताको सवाललाई प्रमुख एजेन्डा बनाउँदै सन् १८१६ को सुगौली सन्धी र सन् १९५० को भारतसँगको असमान सन्धी लगायतका सन्धीहरू खारेज गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, भ्रष्टाचार, बेरोजगारी, मूल्यवृद्धि, युवापलायन, र राजनीतिक अपराधीकरणजस्ता विषयलाई प्रमुख जनजीविकाको समस्या भन्दै ती विरुद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेलाले हालैको जेनजी आन्दोलनलाई ‘नयाँ पुस्ताको स्वतःस्फूर्त विद्रोह’को रूपमा विश्लेषण गर्दै त्यसले राज्य, राजनीति र पुस्ताबीचको अन्तरविरोध उजागर गरेको निष्कर्ष निकालेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबारे पार्टीले वैदेशिक शक्तिहरूको चलखेल रहेको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब सृजना गर्नुपर्ने जनाएको छ ।

पार्टीले चुनावलाई ‘संघर्षको मोर्चा’ का रूपमा व्याख्या गर्दै जनतालाई सचेत र संगठित बनाउन चुनावी प्रक्रियामा कार्यनीतिक रूपमा सहभागी हुने संकेत गरेको छ ।

भेलाले क्रान्तिकारी एकता, वर्गसंघर्ष, र वैज्ञानिक समाजवादतर्फको यात्रालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि सारेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल विभाजित भएपछि नयाँ कमिटी बनेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ३ : २९ बजे