Logo

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीको आह्वान : ‘फेरि आफ्नो घर, एमाले फर्कौं’


१५ कार्तिक २०८२, शनिबार  

23
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले) विभाजनको विषयमा टिप्पणी गर्दै दलभित्रको पछिल्लो असन्तुष्टिलाई ‘पद, प्रतिष्ठा र अवसरका लागि गरिएको राजनीतिक प्रयोग’ भनेका छन् ।

सामाजिक सञ्जालमा शनिबार लेख्दै मुख्यमन्त्री कार्कीले २०५४ र २०७८ का एमाले विभाजनले पनि पार्टीको मूलभूत विचार र संगठनात्मक शक्तिलाई कमजोर बनाउन नसकेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यी दुबै विभाजन केवल केही नेताको पद, प्रतिष्ठा र अवसरका निम्ति प्रयोग भए । अहिले नेकपा समाजवादी पार्टीमा भइरहेको बहस र निर्णय पनि एमालेलाई कमजोर पार्ने प्रयास मात्रै हो ।’

मुख्यमन्त्री कार्कीका अनुसार हाल नेकपा एकीकृत (समाजवादी) लाई माओवादी केन्द्रमा समाहित गराउने प्रक्रिया अघि बढेको देखिन्छ, जसले उक्त दल ‘एमालेबाट अलग भएर बनेको अस्थायी आश्रय’ मात्रै भएको पुष्टि गर्छ ।

एमालेमा पुनः एकता र सुदृढताका लागि आह्वान गर्दै उनले भनेका छन्, ‘आउनुस्, हामी फेरि आफ्नो घर अर्थात् नेकपा एमालेमै फर्कौं। आफैंले दुःख गरेर निर्माण गरेको पार्टीलाई अझ शक्तिशाली बनाऔं ।’

उनले आगामी ११औं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा प्रयोग गर्दै पार्टीलाई नेपालकै निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्य लिने समय आएको बताएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : ०८ बजे