काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूको आन्दोलनपछि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग भेट नगरेको खुलासा गरेकी छन्। शुक्रबार बालुवाटारमा आयोजित सम्पादकहरूसँगको संवादमा उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जनमतको सम्मान गर्दै राजनीतिबाट विश्राम लिन सुझाव दिएकी हुन्। उनले ती नेताहरू भेट्न आएका खण्डमा आफू तयार रहेको बताइन् र प्रधानमन्त्री बनेपछि उनीहरूसँग फोनमा समेत कुराकानी नभएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले तोकिएको मिति २१ फागुनमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराएर सरकार विदा हुने घोषणा गरिन्। उनका अनुसार चुनावका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको छ र प्रहरीको उच्च मनोबल कायम राख्दै आवश्यक सामग्रीको व्यवस्था गरिएको छ। उनले धाँधलीरहित, पारदर्शी र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याइन्।
उनका अनुसार वर्तमान सरकारको मुख्य उद्देश्य निर्वाचन सम्पन्न गराउने भए पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुनेछैन। “सरकार भ्रष्टाचारीलाई कारबाही गरेर मात्रै निर्वाचनमा जान्छ,” प्रधानमन्त्री कार्कीले भनिन्। उनले जेनजी समूहहरूसँग निरन्तर संवाद भइरहेको बताउँदै आगामी मन्त्रिपरिषद् विस्तारमा पनि जेनजी युवाहरूलाई समेटिने विश्वास दिलाइन्। पर्यटन मन्त्रालयमा निष्पक्ष छवि भएका विषयविज्ञ ल्याइने पनि उनले बताइन्।
प्रधानमन्त्री कार्कीले विभिन्न देशका ११ जना राजदूतहरूलाई फिर्ता बोलाइएको विषयमा स्पष्ट पार्दै उनीहरूले सरकारविरुद्ध लबिङ गरेको र अपेक्षित रूपमा काम नगरेको आरोप लगाइन्। कतिपय राजदूतहरू आर्थिक आर्जनमा संलग्न रहेको कारण पनि फिर्ता बोलाइएको उनको भनाइ थियो।
उनले सरकारका कुनै पनि मन्त्रीले आगामी निर्वाचनमा भाग नलिने स्पष्ट पारिन्। उर्जामन्त्री कुलमान घिसिङ मात्र चुनाव लड्ने सुनेको उनले बताइन्। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबारे बोल्दै प्रधानमन्त्री कार्कीले उनलाई “भाइ” सम्बोधन गरिन् र उनले आफ्नै ढंगले काम गर्ने व्यक्ति भएको बताइन्। गृहमन्त्री हटाउने प्रस्तावमा आफू सहमत नरहेको उल्लेख गर्दै उनले भनिन्, “गृहमन्त्री हटाउने कुरा जोसुकै ल्याओस्, म त्यसको पक्षमा छैन।”
प्रधानमन्त्री कार्कीले रहरले नभई जिम्मेवारीका कारण प्रधानमन्त्री बनेको बताइन्। भदौ २३ गते गोली लागेका घाइतेहरूको अवस्था देखेपछि आफूमा भावनात्मक प्रतिक्रिया उत्पन्न भएको उल्लेख गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलको आग्रहपछि जिम्मेवारी स्वीकृत गरेको खुलासा गरिन्। उनले आफ्नो सम्पत्ति विवरण बुझाइसकेकी र छिट्टै सार्वजनिक हुने जानकारी दिइन्। मन्त्रीहरूको सम्पत्ति विवरण पनि सार्वजनिक गरिने बताइन्।
दुर्गा प्रसाईंको गतिविधि सरकार नजिकबाट नियालिरहेको बताउँदै प्रधानमन्त्री कार्कीले उनलाई राजनीतिक दल खोलेर झापाबाट चुनाव लड्न सुझाव दिएकी थिइन्। उनले भनिन्, “उहाँ वार्तामा आउँछु भन्नुहुन्छ, तर आउनुहुन्न। फेरि आन्दोलन गर्छु भनेर धम्की दिनुहुन्छ। मैले त उहाँलाई झापामा गएर चुनाव लड्न भनेकी छु।” उनले चेतावनी दिँदै भनिन्, “कानून उल्लंघन भए सरकारले ‘ल एण्ड अर्डर’ कायम गर्छ।”
सम्वादको अन्त्यमा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको दृष्टिकोण स्पष्ट रहेको र दलका नेताहरू नै अझै अस्थिर देखिएको टिप्पणी गरिन्। उनले भनिन्, “जेनजीहरू क्लियर छन्, बरु दलका नेताहरू क्लियर छैनन्।”

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया