काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछिको जनमतको सम्मान गर्दै नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग भेट नगरेको स्पष्ट पारेकी छिन्। बालुवाटारमा मंगलबार आयोजित सम्पादकहरूसँगको संवादमा उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई राजनीतिबाट विश्राम लिन सुझाव दिएको बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार तीन ठूला नेताहरूसँग आफू प्रधानमन्त्री बनेयता फोनमा समेत कुराकानी भएको छैन। तर, आवश्यक परे उनीहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्न तयार रहेको पनि उनले बताइन्।
उनले सरकारले तोकिएकै मिति २१ फागुनमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने तयारी पूरा गरेको उल्लेख गरिन्। “प्रहरीको उच्च मनोबल कायम गर्न र आवश्यक सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा कुनै पनि विदेशी राजदूतसँग भेट नगरेको र कुनै विदेशी हस्तक्षेप नमहसुस भएको दाबी गरिन्। उनले भने, “सरकार भ्रष्टाचारविरुद्ध दृढ छ। भ्रष्टाचारीलाई कारबाही गरेर निर्वाचनमा जान्छ।”
उनका अनुसार सरकारमा सहभागी मन्त्रीहरू आगामी निर्वाचनमा उम्मेदवार नबन्नेछन्। “गृहमन्त्री ओमप्रकाशजीले त चुनावपछि वकालतमा फर्किने बताउनुभएको छ,” उनले भनिन्। उर्जामन्त्री कुलमान घिसिङमात्रै चुनाव लड्ने सुनेको पनि उनले उल्लेख गरिन्।
राजदूतहरू फिर्ता बोलाउनेबारे कार्कीले ११ जना राजदूतहरू सरकारविरुद्ध लविङ गरेको र देशको हितमा अपेक्षित काम नगरेको कारण फिर्ता बोलाइएको बताइन्। “राम्रो काम गरेका राजदूतहरूलाई फिर्ता बोलाइएको छैन,” उनले स्पष्ट पारिन्।
आगामी मन्त्रिपरिषद् विस्तारमा जेनजी समूहका प्रतिनिधिलाई समेटिने बताउँदै कार्कीले पर्यटन मन्त्रालयमा निष्पक्ष छवि र विषयविज्ञ व्यक्तिलाई जिम्मेवारी दिने घोषणा गरिन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री कार्कीले उनलाई “भाइ” सम्बोधन गर्दै भनिन्, “बालेन शाह भाइ हुन्, आउँछन्, कुरा राख्छन्, जान्छन्। मेरो कुरा मान्दैनन्, उनी आफ्नै किसिमका मान्छे हुन्।”

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया