Logo

राजनीति

ओलीले भने– देशको सार्वभौम अस्तित्वमाथि चुनौती, एमाले मौन रहन सक्दैन


१४ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौम अस्तित्व र लोकतान्त्रिक संविधानमाथि चुनौती खडा गरिएको भन्दै यस्तो अवस्थामा एमाले मौन बस्न नसक्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षा गर्न सबै नेपालीलाई एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्न आह्वान गरे।

‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं,’ ओलीले भनेका छन्।

उनले एमालेले विगतमा निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेलेको दाबी गरे। ‘अनेकौं प्रहार खेपेर पनि एमाले राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच बनेको छ,’ ओलीले भने।

अध्यक्ष ओलीका अनुसार एमाले केवल एउटा राजनीतिक संगठन नभई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। उनले एमालेको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेको, कतिले जेलयातना भोगेको र कतिले जीवन बलिदान गरेको स्मरण गरे।

उनले सबै पुराना नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्दै भने, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि काँधमा काँध मिलाएर अघि बढौं— देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा समृद्धिको ज्योति बालौं।’

ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य साकार पार्न सबैलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४९ बजे