Logo

खेलकुद

एनपीएलका १९ विदेशी खेलाडी घोषणा, सबैभन्दा बढी चितवनबाट


१४ कार्तिक २०८२, शुक्रबार  

92
Shares

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि १९ विदेशी खेलाडी घोषणा भएका छन्। मंसिर १ देखि २७ गतेसम्म हुने लिगमा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।

चितवन राइनोजले सबैभन्दा बढी चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। चितवनले इंग्ल्यान्डका ब्याटर डेविड मिलान, अलराउन्डर रवि बोपारा, युगान्डाका अल्पेश रामजानी र पाकिस्तानका बलर सोहल तान्बिरलाई टिममा समावेश गरेको छ। बोपारा र तान्बिरले अघिल्लो सिजनमा पनि चितवनकै तर्फबाट खेलेका थिए।

कर्णाली याक्सले तीन विदेशी खेलाडी भित्र्याएको छ — स्कट्ल्यान्डका बलर मार्क वाट, नेदरल्यान्डका ब्याटर म्याक्स ओ’डाउड र अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो। बोसिस्टोले पनि दोस्रो पटक कर्णालीकै तर्फबाट खेल्न लागेका हुन्।

विराटनगर किंग्सले दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस, अस्ट्रेलियाका साम हिजलेट र स्कट्ल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ।

काठमाडौं गोर्खाजले दक्षिण अफ्रिकाका रिकार्डाे भान्सकोनेसेलोज, अमेरिकाका मिलिन्द कुमार र नामिबियाका कप्तान गेहार्ड इरास्मसलाई टिममा समावेश गरेको छ। इरास्मसले अघिल्लो सिजनमा पनि काठमाडौंकै तर्फबाट खेलेका थिए।

जनकपुर बोल्ट्सले अमेरिकी ब्याटर लहिरु मिलान्था र दक्षिण अफ्रिकाका फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरेको छ। मिलान्थालाई जनकपुरले दोस्रो सिजनमा पनि निरन्तरता दिएको हो।

लुम्बिनी लायन्सले अस्ट्रेलियाका डार्शी शार्ट र इटालीका थोमस ड्राकालाई भित्र्याएको छ।

सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका ब्याटर क्रिस लिन र पोखरा एभेन्जर्सले इंग्ल्यान्डका ब्याटर तथा विकेटकिपर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित एनपीएलको दोस्रो संस्करणमा प्रत्येक टिमले चार विदेशी सहित १५ खेलाडी राख्न पाउने नियम छ। पहिलो संस्करणकै आठ टिम — जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र चितवन राइनोज — ले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : १६ बजे