Logo

मुख्य समाचार

नेपाल धितोपत्र बोर्डका कर्मचारीद्वारा अध्यक्षको राजीनामाको माग, कार्यालय प्रवेशमा रोक


१४ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं — नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गर्दै उनलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

बोर्डमा क्रियाशील नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठननेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले नैतिक जिम्मेवारीका आधारमा पदत्याग गर्नुपर्ने माग गरेका हुन्।

कर्मचारीहरूको आरोप छ कि अर्थ मन्त्रालयले बोर्डको स्वायत्ततामाथि प्रहार गर्दा अध्यक्षले आफ्नो अधिकार प्रयोग गर्न सकेनन् र पदको गरिमा जोगाउन असफल भए। अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती गर्ने निर्णयप्रति सञ्चालक समितिले कुनै पहल नगरेको भन्दै कर्मचारी असन्तुष्ट भएका छन्।

बोर्डको स्वायत्तता जोगाउन माग गर्दै कर्मचारीहरू ३८ दिनदेखि आन्दोलनमा छन्। तर, सो अवधिमा अध्यक्षले समस्या समाधानका लागि कुनै पहल नगरेको विज्ञप्तिमा उल्लेख छ। आन्दोलन टुंग्याएर काममा फर्किने तयारीमा रहेका कर्मचारीहरूले पनि अध्यक्षले न्यायिक निरुपणका लागि अदालत जाने संवैधानिक अधिकार प्रयोग नगर्दा समस्या थपिएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई कार्यकक्षमा प्रवेश गर्न दिइने छैन।”

यसअघि, **नेपाल स्टक एक्सचेन्ज (नेप्से)**का कर्मचारीहरूले पनि अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को राजीनामा माग्दै आन्दोलन गरेका थिए। तर, उनीहरूले हाल आन्दोलनका कार्यक्रम स्थगित गरिसकेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : १९ बजे