Logo

प्रविधि

एनसेलले १० दिनमै २० नयाँ टावर सञ्चालनमा ल्यायो


१४ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं — एनसेलले गत १० दिनभित्र देशभर २० वटा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याएको छ। नयाँ टावर सञ्चालनसँगै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको सुविधा लिन सक्ने भएका छन्।

कम्पनीका अनुसार सेवा विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा फोरजी सेवा थप टावरसहित सुदृढ गरिएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण प्रक्रिया सहज बनाएपछि एनसेलले चाडपर्वका दिनमै टावर स्थापनाको कार्य तीव्र पारेको जनाएको छ।

मधेस प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा आएका छन्। ती बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, तथा रौतहटको यमुनामाई र माधव नारायणमा रहेका छन्।

कोशी प्रदेशमा सुनसरीका इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको ववियाविर्ता तथा मजारेमा दुई गरी छ वटा नयाँ टावर सञ्चालनमा आएका छन्। बागमती प्रदेशको मकवानपुरको हेटौडामा एक टावर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार कम्पनीले आगामी दुई दिनभित्र थप १० नयाँ टावर सञ्चालनमा ल्याउने तयारी गरेको छ। उनले भने, “हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताअनुसार फोरजी नेटवर्कलाई सुदृढ बनाइरहेका छौं।”

उपकरण आयातमा बन्देजका बीच पनि एनसेलले यस वर्ष ४० भन्दा बढी नयाँ टावर जडान गरी सेवा विस्तार गरेको थियो। कम्पनीले अबको दुई महिनाभित्र सबै प्रदेश समेटिने गरी १७० भन्दा बढी नयाँ टावर जडान गर्ने योजना अघि बढाएको छ।

जेठ २०७४ देखि फोरजी सेवा सुरु गरेको एनसेलले हाल यो सेवा देशका सबै ७७ जिल्लामा विस्तार गरिसकेको छ। कम्पनीका अनुसार हालसम्म फोरजी सेवा कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा पुगेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : ५२ बजे