Logo

मुख्य समाचार

 गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो


१२ कार्तिक २०८२, बुधबार  

23
Shares

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा रहेको ओखरिया इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

विशेष गरि तिहारको समयमा देउसी भैलो खेलेपछि पिकनिक खाने, इन्टेक घुम्ने,  कर्णाली चिसापानी पुुल  र बर्दिया राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

ओखरिया इन्टेकमा आजभोली पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा सबैभन्दा बढि घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरका पर्यटन व्यवसायी तिलक बहादुर चौधरीले बताए ।

पछिल्लो समयमा हरेक दिन करिब ५० ओटा टिम पिकनिक खान र घुम्नका लागि आउने गरेको उनले बताए ।

ओखरिया इन्टेकबाट बर्दिया राष्ट्रिय निकुञ्जबाट विचरण गर्न आएका बाघ, हात्ती गैँडा चित्तल लगएतका वन्यजन्तु हेर्न पाईन्छ । इन्टेक आसपासको क्षेत्रमा आउने वन्यजन्तु हेर्न सकिने हुनाले पनि त्यहाँ घुम्न जाने गरेको गेरुवा गाउँपालिका वडा नं ४ गिदरपुरका पुस्कर काफ्लेले बताए ।

स्थानीय सरकारले ओखरिया इन्टेकलाई थप व्यवस्थीत बनाउन सकेमा बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने उनले बताए ।

पर्यटकको लागि र पिकनिक खाने टोलीको लागि सहज होस भनेर गेरुवा गाउँपालिकाले पिकनिक स्थलको व्यस्थापन गरेको छ । पिकनिक स्थलमा खानेपानी, शौचालय, टहरा, गोलघर र सो ठाउँमा जानका लागि सडक निर्माण गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर चन्दले बताए ।

उनले सो ठाउँलाई थप रमणिय बनाउनका लागि शहिद स्मृती पार्क निर्माण कार्य अगाडि बढाईएको बताए । ओखरिया इन्टेक सँग सँगै गेरुवा गाउँपालिकाले अन्य स्थानलाई समेत पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै लगेको उनले बताए ।

पश्चिम क्षेत्रबाट निकुञ्ज दृश्यावलोकन गर्ने र निकुञ्ज प्रवेश गर्ने गरि पर्यटक आकर्षित गर्नका लागि योजना बनाएर काम गरिरहेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए ।

ओखरिया इन्टेक बर्दियाको सदरमुकाम गुलरिया देखि ५५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । भौगोलिक विकटाता भएपनि शान्त वातावरण र मनोरम दृश्य भएको हुनाले टाढा टाढा देखि ओखरिया इन्टेक घुम्नका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ५७ बजे