Logo

मुख्य समाचार

एनसेलले १० दिनभित्र २० नयाँ टावर सञ्चालनमा ल्यायो


१२ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । एनसेलले १० दिनभित्र देशभर २० नयाँ मोबाइल टावर सञ्चालनमा ल्याएको छ। कम्पनीले फोरजी सेवा विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा टावर जडान कार्य सम्पन्न गरेको जनाएको छ।

एनसेलका अनुसार मधेस प्रदेशमा १३, कोशी प्रदेशमा ६ र बागमती प्रदेशमा १ गरी कुल २० नयाँ टावर सञ्चालनमा आएका छन्। मधेसमा बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा टावर जडान गरिएको छ। कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढी, तथा मोरङको ववियाविर्ता र मजारेमा टावर सञ्चालनमा आएका छन्। बागमती प्रदेशको मकवानपुरस्थित हेटौडामा पनि नयाँ टावर जडान गरिएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार नयाँ टावर सञ्चालनले ती क्षेत्रका ग्राहकलाई सुधारिएको फोरजी नेटवर्क र उच्च गतिको डेटा सेवामा पहुँच सुनिश्चित गरेको छ। उनले भने, “डिजिटल कनेक्टिभिटी विस्तार गर्ने प्रतिबद्धताअनुसार हामीले छोटो समयमा फोरजी नेटवर्क सुदृढ बनाएका छौं। आगामी दुई दिनभित्र थप १० नयाँ टावर सञ्चालनमा ल्याउने योजना छ।”

कम्पनीले उपकरण आयातमा बन्देजका समयमा पनि पुराना उपकरण पुनःप्रयोग गरी यो वर्ष ४० भन्दा बढी टावर जडान गरेको जनाएको छ। फोरजी सेवा विस्तार योजना अनुसार, एनसेलले अब दुई महिनाभित्र सबै प्रदेशमा थप १७० भन्दा बढी नयाँ टावर जडान गर्ने तयारी गरिरहेको छ।

एनसेलले जेठ २०७४ मा फोरजी सेवा सुरु गरेको हो। हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : १२ बजे