एयर फोर्स वन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने संवैधानिक अनुमति नभएको स्पष्ट रूपमा बताएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी संविधानले राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न दिने प्रावधान रहेको भन्दै उक्त सीमा स्वीकार गर्ने बताएका हुन्।
“मसँग इतिहासकै उच्च जनमत छ, तर मैले पढेअनुसार तेस्रो पटक चुनाव लड्न पाइँदैन। यो साँच्चै दुर्भाग्यपूर्ण कुरा हो,” ट्रम्पले भने।
७९ वर्षीय ट्रम्पले सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरेका थिए र हाल दोस्रो कार्यकालमा छन्। संवैधानिक प्रतिबन्धका बाबजुद उनका केही कट्टर समर्थकहरूले ट्रम्पलाई आगामी सन् २०२८ को राष्ट्रपति चुनावमा पुनः उम्मेदवार बन्न आग्रह गर्दै आएका छन्।
हालै ट्रम्पले ओभल अफिसमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गरेपछि तेस्रो कार्यकालबारे चर्चा पुनः तीव्र बनेको थियो। तर बुधबार उनले पुनः स्पष्ट पारे, “म पुनः चुनाव लड्न सक्दिन, तर देशमा धेरै महान व्यक्तिहरू छन्।”
अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले पनि ट्रम्पसँग तेस्रो कार्यकालबारे भएको वार्ताको पुष्टि गर्दै संविधानले यस्तो सम्भावना नदिएको बताए। “संविधानको २२औँ संशोधन स्पष्ट छ—राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी शासन गर्न सक्दैन,” जोनसनले भने।
उनका अनुसार, संविधान संशोधन गरेर यो प्रावधान बदल्न प्रयास गरे पनि कङ्ग्रेस र राज्यहरूको अनुमोदन प्रक्रिया कठिन र असम्भवजस्तै छ।
ट्रम्पका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका रणनीतिज्ञ स्टिभ बेननले गत हप्ता ट्रम्प सन् २०२८ मा पनि ह्वाइट हाउसमा हुने दाबी गरेपछि तेस्रो कार्यकालबारे चर्चा चुलिएको थियो। तर ट्रम्पले संविधानको सीमा स्वीकार गर्दै त्यसबारेका अड्कलबाजीहरू अन्त्य गरेका छन्।
ट्रम्पको राजनीतिक प्रभाव भने अमेरिकी राजनीतिको केन्द्रमा अझै बलियो देखिएको छ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया