Logo

मुख्य समाचार

सिन्धुलीमा कार दुर्घटनाः विराटनगरका एक जनाको मृत्यु, दुई घाइते


११ कार्तिक २०८२, मंगलबार  

23
Shares

रामेछाप । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान सडकबाट  कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

दुर्घटनामा ओमबहादुरकी ४९ वर्षीया पत्नी सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा चालकसमेत रहेका ओमबहादुरको मृत्यु भएको र उनकी पत्नीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। छोरा निशान्तको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सुनकोसीको टोली खटिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ०६ बजे