टोकियो । जापानमा बढ्दो भालु आक्रमणका कारण उत्तर जापानको अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले सेनाको सहयोग मागेका छन् । सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको सुरक्षा सम्भव नभएको बताएका छन् ।
सरकारी तथ्याङ्कअनुसार चालु वर्ष हालसम्म भालु आक्रमणमा १० जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ जनाको रेकर्डभन्दा बढी हो । गभर्नर सुजुकीका अनुसार भालुहरूले घाँटी र अनुहार लक्षित आक्रमण गर्ने क्रम बढेपछि स्थिति भयावह बनेको छ ।
भालुहरू पहाडी क्षेत्र मात्र नभई सहर र बस्तीमा समेत देखिन थालेका छन् । “स्थानीय बासिन्दाको दैनिकी अवरुद्ध भएको असामान्य अवस्था सिर्जना भएको छ,” सुजुकीले चेतावनी दिएका छन् ।
रक्षामन्त्री सिन्जिरो कोइजुमीले सरकार उपलब्ध सबै साधन प्रयोग गरी सुरक्षाको अवस्था पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वातावरण मन्त्रालयका अनुसार पछिल्लो पीडित अकिताको पहाडी गाउँमा आक्रमणमा परेका चारमध्ये एक हुन्, यद्यपि केही घटनाहरू अझै तथ्याङ्कमा समावेश भएका छैनन् ।
स्थानीय मिडियाका अनुसार सोमबार अकिताको धानखेतमा एक महिला मृत फेला परेकी थिइन् भने इवाटे क्षेत्रमा एक पुरुष र उनको कुकुर पनि भालुको आक्रमणको शिकार बनेका थिए ।
उत्तरी जापानमा भालुहरूले पर्यटक, विद्यालय र पसलनजिक प्रवेश गर्ने घटनाहरू बढेका छन् । एकोर्नजस्ता खाने वस्तुको कमी र जलवायु परिवर्तनका कारण भालुहरू बस्तीमा पस्न थालेका हुन् । तातो मौसमले उनीहरूको हाइबरनेसन (शीतनिद्रा) ढाँचामा पनि असर पारेको जनाइएको छ ।
जापानमा दुई प्रजातिका भालु पाइन्छन् — एसियाली कालो भालु र ठूलो आकारका खैरो भालु, जसको तौल करिब ५०० किलोग्रामसम्म पुग्छ । वृद्ध जनसङ्ख्या र घट्दो सिकारीको सङ्ख्याका कारण नियन्त्रण कठिन बन्दै गएको छ ।
गत हप्तामात्र वातावरण मन्त्री हिरोटाका इशिहाराले भालु आक्रमणलाई ‘राष्ट्रिय समस्या’ भन्दै सिकार सुरक्षा सुदृढ गर्ने, सिकारीलाई तालिम दिने र जनसङ्ख्या व्यवस्थापनका उपाय बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।










प्रतिक्रिया