Logo

मुख्य समाचार

बिहीबार र शुक्रबार बागमती, मधेश र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना


११ कार्तिक २०८२, मंगलबार  

23
Shares

काठमाडौं । देशका केही स्थानमा सोमबार रातिदेखि सुरु भएको वर्षा र हिमपात आगामी बिहीबार र शुक्रबारसम्म थप तीव्र हुने मौसमविद्हरूले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण हाल देशभर वर्षा र हिमपात भइरहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार सार्वजनिक गरेको बुलेटिनमा बिहीबार (कात्तिक १३) र शुक्रबार (कात्तिक १४) बागमती, मधेश र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार सोमबार रातिदेखि पश्चिमी नेपालमा सुरु भएको वर्षा मध्य–पहाड हुँदै पूर्वतर्फ सर्ने क्रममा बिहीबारदेखि व्यापक हुने अनुमान गरिएको छ।

पूर्वी नेपालमा बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक समुद्री आँधीको प्रभाव पनि देखिने भएको छ। जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले उक्त आँधीको प्रभाव बुधबार (कात्तिक १२) देखि नै पूर्वी नेपालमा देखिने र कात्तिक १३–१६ सम्म बागमती, मधेश र कोशी प्रदेशमा बढी प्रभाव पर्ने बताएका छन्। उनका अनुसार मोन्थाको प्रभावले मनसुनजस्तै मौसमीय अवस्था सिर्जना गर्ने सम्भावना छ।

महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ कि मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ र ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : ४० बजे