Logo

कोशी

कोशी प्रदेशमा छठ पर्वको उत्सव


१० कार्तिक २०८२, सोमबार  

46
Shares

विराटनगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइनेछ ।

विराटनगरको हाटखोलास्थित सिंघिया घाटसहित प्रदेशका विभिन्न जिल्लाका पोखरी, नदी र जलाशय किनारमा व्रतालुहरू, भक्तजन र श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । सुनसरी मोरङ सिमानास्थित बुढींगा जमुना घाट लगायत कोशी प्रदेशका खासगरी तराई क्षेत्रका नदी तलाउ किनारामा पर्वको रौनक देखिएको छ ।

चार दिनसम्म मनाइने यस पर्वको तयारीका लागि केहीदिन अघिदेखि नै पोखरी, नहर र नदी किनारमा सरसफाइ र सजावट गरिएको थियो । व्रतालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसेर सूर्यदेव र षष्ठीदेवी (छठीदेवी)को आराधना गरिरहेका छन् । शनिबार ‘नहायखाय’ विधिबाट सुरु भएको यो पर्व आइतबार ‘खरना’ सम्पन्न गरी आज मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परामा प्रवेश गरेको हो ।

यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्पूर्ण नेपालीहरूलाई छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । उनले छठलाई “सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व” भन्दै यो पर्वले समाजमा एकता, सद्भाव र सहिष्णुताको सन्देश दिन्छ भनेका छन् ।

उनले विविधता भित्रको एकतालाई सम्मान र गौरवको रूपमा स्थापित गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समाजमा शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गरे ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, धरान, इटहरी, उदयपुरलगायत क्षेत्रमा छठ पर्वको उल्लासपूर्ण माहोल छ । तराई क्षेत्रमात्रै नभएर पहाडी भेगका पोखरी र नदी किनारका छठ घाटमा व्रतालुहरू अघ्र्य अर्पण गर्दै सूर्यदेव र छठीदेवीको आराधनामा तल्लीन भएका देखिन्छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ०३ बजे