काठमाडौं । देशका अधिकांश भागमा हाल मौसम बदली रहेको छ भने आज रातीदेखि बुधबारसम्म विभिन्न स्थानमा वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो जारी गरेको विशेष बुलेटिनमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिमपात तथा वर्षा गराउने उल्लेख गरेको छ।
बुलेटिनका अनुसार बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि यस्तै मौसम रहने र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।











प्रतिक्रिया