काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै तीन खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालले भारतसँग एक खर्ब ९९ अर्ब ७४ करोड र चीनसँग एक खर्ब चार अर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको हो ।
उक्त अवधिमा भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड बराबरको वस्तु आयात भएको छ भने निर्यात रकम ५९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको विभागले जनाएको छ । चीनसँग एक खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात हुँदा निर्यात भने १८ करोड ६४ लाख रुपैयाँ मात्र भएको छ ।
भारतपछि चीन नेपालका लागि सबैभन्दा बढी व्यापार घाटा भएको मुलुक बनेको छ । यसअघि पनि नेपालको कुल वैदेशिक व्यापारमा भारत र चीनकै हिस्सा सबैभन्दा ठूलो रहँदै आएको छ ।
भन्सार विभागका तथ्यांकअनुसार नेपालले हाल १४० देशसँग वैदेशिक व्यापार गरिरहेको छ । तीमध्ये साइप्रस, बहामासलगायतका केही देशसँग नेपालले वैदेशिक व्यापार नाफामा गरेको विभागले जनाएको छ ।










प्रतिक्रिया