Logo

Breaking News 1

वीरगन्ज नाकाबाट इभीको आयात १ सय ३६ प्रतिशतले बढ्यो



वीरगन्ज । डिजल, पेट्रोलबाट सञ्चालन हुने परम्परागत सवारी साधनलाई विद्युतबाट चल्ने इलेक्ट्रोनिक्स भेइकल (इभी) ले विस्थापित गर्दै गएको छ । डिजल–पेट्रोलको दिनानुदिन बढ्दै गएको मूल्य र परम्परागत सवारीको मर्मत–सम्भारमा लाग्ने खर्चले गर्दा नेपाली उपभोक्ता इभीतर्फ आकर्षित हुँदै गएका छन् ।

नेपाली उपभोक्ता परम्परागत वाहनबाट इभीतर्फ सर्दै गएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले समेत पुष्टि गरेको छ । देशको मुख्य व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने परम्परागत डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयातमा संकुचन देखिएको छ भने इभीको आयातमा उल्लेख्य वृद्धि हुँदै गएको छ । ‘भविष्यको सवारी’ भनेर चिनिने विद्युतीय दुई पहिए तथा चार पहिए सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाकाबाट नेपालका लागि इभीको आयात १ सय ३६ प्रतिशतले वृद्धि भएको छ भने डिजल–पेट्रोलबाट चल्ने चार पांग्रे सवारी साधनको आयात २४ प्रतिशतले घटेको छ ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोजसम्मको तीन महिनामा १४ करोड ४९ लाख मूल्य बराबरका ९७ वटा विद्युतीय जिप–कार आयात भएकोमा चालु आवको सोही अवधिमा ६८ करोड ७५ लाख रुपैयाँको २ सय २९ थान सवारी आयात भएको छ ।

समिक्षा अवधिको तुलनामा ५४ करोड २६ लाख बढी मूल्यका १ सय ३२ थान विद्युतीय जिप–कार बढी आयात भएको भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी, गत आवको पहिलो त्रैमासिकमा २१ करोड १७ लाख रुपैयाँका १ हजार ४ सय ८१ थान विद्युतीय मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा २८ करोड ७९ लाख रुपैयाँका २ हजार १ सय ९४ थान मोटरसाइकल आयात भएको छ । यो समिक्षा अवधिको तुलनामा ७ करोड ६२ लाख रुपैयाँ बढीका ७ सय १३ थान विद्युतीय मोटरसाइकल बढी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

विद्युतबाट सञ्चालन हुने अर्थात् रिचार्जेबल सवारीको आयातमा वृद्धि भएसँगै डिजल–पेट्रोल प्रयोग हुने जिप–कारको आयात घट्दै गएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयात २४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ७६ करोड ५८ लाख रुपैयाँका ४ सय ३२ थान जिप, कार तथा भ्यान आयात भएकोमा चालु आवको सोही अवधिमा ६२ करोड २४ लाख रुपैयाँका ३ सय ३० थान सवारी आयात भएको छ । यो समिक्षा अवधिको तुलनामा मूल्यमा १५ प्रतिशत कम तथा संख्यामा १ सय २ थान कम सवारी आयात भएको हो ।

नेपालमा मुख्यगरी भारतको टाटा र चीनको बिवाइडीले सबैभन्दा बढी विद्युतीय सवारी साधन भित्र्याएका छन् । पछिल्लो समय बढ्दै गएको विद्युतीय सवारी साधनको मागलाई ध्यानमा राख्दै चिनियाँ कम्पनी बिवाइडीले नेपालको विभिन्न सहरमा आफ्ना बिक्री केन्द्र स्थापन गरेको छ भने ठूलो संख्यामा चार्जिङ स्टेशनसमेत सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  २ : ०७ बजे