काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकता प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयअघि नै दुई दलबीच औपचारिक एकता घोषणा हुने तयारी भएको दुवै पक्षका नेताहरूले बताएका छन्।
दुवै दलबीच पार्टीको नाम र चुनाव चिन्हसम्बन्धी विषयमा पनि प्रारम्भिक सहमति बनेको छ। स्रोतका अनुसार एकीकरणपछि नयाँ पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)” रहने प्रस्ताव गरिएको छ। चुनाव चिन्हका रूपमा हाल नेकपा (एकीकृत समाजवादी)ले प्रयोग गर्दै आएको कलम अपनाउने प्रस्ताव पनि गरिएको छ, यद्यपि यसमा अन्तिम सहमति हुन बाँकी छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि मधेशमा आयोजित कार्यक्रममा कम्युनिष्ट दलहरूको एकता शीघ्र हुने घोषणा गरेका थिए। त्यसपछि दुवै पक्षबीच छलफल तीव्र बनेको र अहिले गृहकार्य अन्तिम चरणमा पुगेको बताइएको छ।
एकताको सर्तअनुसार माओवादी केन्द्रले माओवाद विचार परित्याग गर्ने तयारी गरेको छ। तर नेकपा (एकीकृत समाजवादी)भित्र वरिष्ठ नेता झलनाथ खनालसहित केही नेताहरूले एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
दुवै दलबीच छिट्टै संयुक्त बैठक गरी औपचारिक एकता घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ।










प्रतिक्रिया