काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा कम्युनिष्ट शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता प्रक्रिया अघि बढेपछि विप्लवले पाँच बुँदे धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
विप्लवले दुई दलबीचको एकतालाई सकारात्मक रूपमा लिँदै भनेका छन्, “यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपमा लिनुपर्छ।” तर उनले एकता केवल संगठनात्मक रूपमा सीमित नभई विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण र जीवन व्यवहारमा समेत एकरूपता आवश्यक रहेको बताएका छन्।
उनका अनुसार नेतृत्व तहमा यी विषयमा पहिलेदेखि छलफल भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी छ। उनले कम्युनिष्टहरूबीच विगतमा जस्तो शत्रुतापूर्ण सोच त्यागी प्रमुख अन्तरविरोध समाधान गर्दै नेपाली विशेषताको समाजवाद—अग्राधिकारसहितको संघीयता—स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।
विप्लवले देशको स्वाधीनता गम्भीर संकटमा परेको दाबी गर्दै सबै देशभक्त, समाजवादी र कम्युनिष्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।










प्रतिक्रिया