नयाँ दिल्ली — भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलोपटक ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षा उत्प्रेरण प्रविधिको परीक्षण गरेको छ। वायु प्रदूषण नियन्त्रणको उद्देश्यले गरिएको उक्त परीक्षण इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) कानपुरको सहकार्यमा सम्पन्न भएको हो।
दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाका अनुसार सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना विमानमार्फत बादलमा रासायनिक कण फायर गरी परीक्षण गरिएको हो। सिरसाले विज्ञप्तिमार्फत भने, “आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो।”
परीक्षणबाट विमानको क्षमताको मूल्यांकन, उपकरणको सहनशीलता र आगामी कृत्रिम वर्षाका लागि आवश्यक तयारीको प्रमाणीकरण गरिएको उनले बताए।
मुख्यमन्त्री रेखा गुप्ताले मौसम अनुकूल भए आगामी अक्टोबर २९ मा दिल्लीले पहिलो कृत्रिम वर्षा अनुभव गर्ने सम्भावना रहेको बताइन्। उनले यो परियोजना दिल्लीवासीका लागि “स्वच्छ हावा फिर्ता ल्याउने महत्वपूर्ण कदम” भएको उल्लेख गरिन्।
तर, परीक्षणमा प्रयोग गरिएका रासायनिक पदार्थबारे विवरण सार्वजनिक गरिएको छैन।
तीन करोडभन्दा बढी जनसंख्या रहेको नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानीमध्ये एक मानिन्छ। दीपावलीपछि प्रदूषण झनै बढेको निगरानी संस्था आईक्यू एयरले जनाएको छ। बिहीबार बिहान सहरका केही क्षेत्रमा सूक्ष्म कण (PM 2.5) को मात्रा १५४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो, जुन विश्व स्वास्थ्य संगठनको सिफारिसभन्दा १० गुणा बढी हो।
यसअघि सर्वोच्च अदालतले कम प्रदूषण गर्ने ‘हरियो पटाका’ प्रयोगको अनुमति दिएपछि प्रदूषणस्तर अझै बढेको देखिएको छ।
सेप्टेम्बरमा प्रकाशित एक संयुक्त भारतीय–इटालियन अध्ययनमा प्रदूषणका कारण युनेस्को विश्व सम्पदास्थल लालकिल्ला कालो क्रस्टले ढाकिँदै क्षय भइरहेको चेतावनी दिइएको थियो।
सन् १९४० को दशकमा विकास गरिएको क्लाउड सिडिङ प्रविधि वर्षा बढाउने, डढेलो नियन्त्रण गर्ने र हवाई यातायातमा कुहिरो हटाउने प्रयोजनमा विश्वका विभिन्न देशले प्रयोग गर्दै आएका छन्। चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधि प्रयोग गरेको थियो।
तर, वैज्ञानिकहरूबीच यसको प्रभावकारिताबारे मतभेद रहँदै आएको छ। केही अनुसन्धानले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र अन्य क्षेत्रमा अप्रत्याशित असर पार्ने देखाएका छन्। दिल्लीमा गरिएको यो परीक्षण सफल हुने वा नहुने मूल्यांकन अझै हुन बाँकी छ।










प्रतिक्रिया