Logo

मुख्य समाचार

निर्वाचन आयोगमा १५ नयाँ राजनीतिक दल दर्ताको निवेदन अध्ययनमा


७ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ वटा निवेदनको कागजात अध्ययन गरिरहेको जनाएको छ।

आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुनुअघि १० दलले दर्ताका लागि निवेदन दिएका थिए भने निर्वाचन घोषणा भएपछि थप पाँच दलले निवेदन दिएका छन्। ती सबै दलका कागजात अहिले आयोगमा विचाराधीन अवस्थामा रहेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने दलका निवेदन स्वीकृत गरिनेछ। उनका अनुसार दल दर्ताका लागि कुनै निश्चित समयसीमा तोकिएको छैन र इच्छुकले जुनसुकै समयमा पनि निवेदन दिन सक्ने व्यवस्था छ।

हालैको ‘जेनजी’ आन्दोलनपछि नयाँ सरकार गठन, प्रतिनिधिसभा विघटन र आगामी निर्वाचनको तयारीसँगै युवापुस्ताको सहभागितामा नयाँ दल दर्ता गर्ने क्रम बढेको आयोगले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ३ : ४७ बजे